सुर्खेत ।
मिडियामा अपाङ्गताका सवाल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतवार वीरेन्द्रनगरमा परिलक्षित संस्थाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतको समन्वय र पिपल्स एक्सेस नेपालको आयोजनामा मिडियामा अपाङ्गताका सवाल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको प्रमुख अतिथी तथा कार्यक्रमका सहजकर्ता राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका अध्यक्ष बिष्णु प्रसाद शर्माले अपाङ्गताका सवालहरुलाई मिडियाले प्राथमिकता दिनुपर्ने र यसमा मिडियाको भूमिका महत्वपूर्ण हुनुपर्ने बताएका छन् । उनले अपाङ्गता सवाल, कानुनी आधार, सामाजिक अवस्था, स्थानीय तह र प्रदेश सरकारले गर्नुपर्ने कामबारे प्रष्ट पारेका थिए । साथै शर्माले मिडियाले समेट्नुपर्ने विषय, भाषिक शुद्धताबारे पनि जानकारी गराउँदै राष्ट्रिय अपाङ्ग महासंघ सहित यस क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई उत्प्रेरणा प्रदान गर्ने क्रियाकलाप संचालन गर्नु पर्नेमा जोड दिए । अपाङ्गतालाई धेरै जसो मान्छेले कमजोर, गर्न नसक्ने, पाप, अभिसाप, सोच्ने हुँदा त्यो सोचाईलाई परिवर्तन गर्न शर्माले आग्रह गरे । यस्तै कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका महिला तथा बालबालिका शाखाकी सरला रेग्मीले नगरपालिकाले अपाङ्गताको क्षेत्रमा गरेका कामबारे जानकारी दिईन । अपाङ्गता परिचयपत्र वितरणमा दबाव आउने गरेको, जनशक्ति अभावमा काम गर्न कठिन भएको र नगरले आउँदा दिनमा अपाङ्गताका सवाललाई प्राथमिकता दिने बताईन । यस्तै भेरीगंगा नगरपालिकाको महिला तथा बालबालिका शाखाकी लक्ष्मी सुवेदी र गुर्भाकोट नगरपालिकाको महिला तथा बालबालिका शाखाकी ललिता चौधरीले आफ्नो शाखाले गरेका काम र प्रगतिबारे जानकारी गराएकी थिईन । उनीहरुका अनुसार अपाङ्गता समन्वय समिति गठन हुन नसकेको, परिचयपत्र वितरणमा राजनीतिक हस्तक्षेप हुने गरेको, लक्षित सुविधा उपलब्ध गराउन जटिलता रहेको बताईएको छ । यस्तै उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका सचिव ललितबहादुर बुढाले मिडियाले उठाउन सक्ने अपाङ्गताका सवालहरुबारे पत्रकारहरुलाई अभिमुखीकरण गरेका थिए । बुढाले मिडियाले अपाङ्गता सम्बन्धि संवैधानिक अधिकार, अपाङ्गतामैत्री राज्यका संरचना भए वा नभएको, अपाङ्गता भएका व्यक्तिहरुको न्यायमा पहुँच, सामाजिक व्यवहार, परिचय पत्र वितरणमा देखिएका बेथिति, शिक्षामा पहुँच र अपाङ्गता भएका व्यक्तिहरुको योजना छनौटमा सहभागिता भए वा नभएकोबारे सवालहरु उठाउनुपर्ने बताए । यस्तै नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बस्यालले मिडियाले अपाङ्गताका सवालहरुलाई आउँदा दिनमा प्राथमिकता दिने प्रतिबद्धता जनाए । मिडियाले नै अपाङ्गताका मुद्दालाई बाहिर ल्याउनुपर्ने र त्यसले राज्यको ध्यानाकर्षण हुने उनको भनाइ थियो । यस्तै कोशिस नेपालका मनोविमर्सकर्ता नरेन्द्र शर्माले मानसिक अपाङ्गताका मुद्दामा सबै गम्भिर हुनुपर्ने बताए । राज्यका संरचनाहरु अपाङ्गतामैत्री नहुँदा समस्या भएको भन्दै यस्ता विषयमा मिडियाले पैरवी गर्नुपर्ने उनको भनाइ थियो । सोही कार्यक्रममा परिलक्षित संस्थाका सुर्खेत फिल्ड अधिकृत राजु लामिछानेले संस्थाले अपाङ्गताको क्षेत्रमा हालसम्म गरेका कामबारे जानकारी दिएका थिए । साथै अपाङ्गताको क्षेत्रमा कार्यरत अन्य संस्थाका प्रतिनिधिहरुले पनि मिडियामार्फत नै राज्यलाई जिम्मेवार बनाउन सकिने बताए ।
यस्तै पिपल्स एक्सेस नेपालका कार्यक्रम संयोजक
युवराज पंगालीले कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्दै कार्यक्रम आयोजना गर्नुको
उदेश्यबारे जानकारी दिएका थिए । कार्यक्रममा पत्रकारहरुले अपाङ्गताबारे धेरै
विषयहरु जानकारी भएको र यो कार्यक्रमले आगामी दिनमा अपाङ्गताको क्षेत्रमा कलम
चलाउन सहज भएको बताए । साथै उनीहरुले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने
भन्दै अपाङ्गता मुद्दा र सवालबारे ज्ञान प्राप्त भएकाले अब समाचार लेखनमा पनि
सहयोग पुगेको भन्दै आयोजक संस्थालाई धन्यवाद दिए । कार्यक्रमबाट अपाङ्गताका सवाल,
मर्यादित
भाषाको प्रयोग, मिडियाले खोजी गर्नुपर्ने विषय र राज्यलाई
गम्भिर बनाउन सकिने सवालबारे आफूहरु प्रशिक्षित भएको भन्दै पत्रकारहरुले यसले
अपाङ्गताका सवालमा मिडियालाई पनि सचेत बनाएको धारणा राखेका थिए । नेत्रहीन युवा
संघ सुर्खेतका बसन्त जैशी, राष्ट्रिय अपाङ्ग महिला संघ सुर्खेतका
अध्यक्ष धनसरा शाही, सुर्खेत नेत्रहीन संघका तुल्सी ढकाल, नेत्रहीन
महिला संघका सोमना खड्का र नेत्रहीन सुर्खेतका प्रतिनिधि शान्ता शर्माले पनि
मिडियाले सवालहरु उठाउँदा राज्य नै गम्भिर बन्ने र अपाङ्गता भएका व्यक्तिहरुले
आफ्नो अधिकार प्रयोग गर्न सक्ने वातावरण निर्माण हुने विश्वास व्यक्त गरेका थिए ।
उक्त कार्यक्रम पिपल्स एक्सेस नेपालकी अध्यक्ष सिता आचार्यको प्रमुख अध्यक्षतामा
सम्पन्न भएको हो भने कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ जिल्ला शाखा
सुर्खेतका सचिव ललित बुढाले गरेका थिए ।
Comments
Post a Comment
Please leave your comments with civilized and full effort of free from multiple meaning.